उपन्यास अंश : प्रियाको पत्र
जन्म-जन्मको सम्झना ।
तपाईंले सिँदूर-पोते लाइदिएको यो शरीरलाई तपाईंकै नाममा चोखै राखेर मैले पाँच वर्ष बिताएँ । ती पाँच वर्ष मेरा लागि पाँच सय जुनीभन्दा कठोर भए । नर्कजस्तो जिन्दगी जीएँ मैले तपाईंको पर्खाइमा । कति रोएँ । कति आँसु बगाएँ । मेरा ती आँसु बटुल्नु हो भने नदी बनेर मलेसियासम्मै पुग्थ्यो होला । तर, त्यो भेलले तानेर ल्याउन सकेन तपाईंलाई ।
मैले त्यो रात तपाईंलाई सोधेँ- ‘कहिले आउने ?’ तपाईंले समय तोक्न सक्नुभएन । पाँच वर्ष त कुरेकै थिएँ, अर्को पाँच वर्ष कुर्न सक्थेँ नै होला । तर, त्यतिन्जेलमा पनि तपाईं आउने ग्यारेन्टी पाउन सकिनँ । जिन्दगी उराठलाग्दो देखेँ । कोही भन्थे- ‘पक्कै अर्की ल्यायो होला ।’ त्यो सुन्दा मलाई भालाले छातीमा रोपेजस्तै हुन्थ्यो । मुख हाँस्थ्यो । मन सधैँ रून्थ्यो । शरीर नेपालमा हुन्थ्यो । मन तपाईंसँगै मलेसियामै पुग्थ्यो ।
त्यसमाथि तपाईंले भन्नुभयो- ‘औडाहा नै भयो भने खेतालो खोज्नू नि !’ त्यो मलाई वज्र हानेजस्तै भयो । तपाईंजस्ता कठोर मान्छेलाई के थाहा, नारी मन कति पवित्र हुन्छ भनेर ? चरित्र असल नारीको गहना हो । उसले त्यसलाई हमेसा चोरिन/लुटिन र कुच्चिनबाट जोगाउँछे । जब गहना उसका लागि बेकार हुने बाध्यता आउँछ । अनि, मात्र उसले सम्झौता गर्छे । गहना फुकाल्छे । त्यो दिन विरलै आउँछ । अभागी मेरो जीवनमा पनि आखिर आयो त्यो क्षण । चरित्र नामको गहना फुकाल्नै पर्ने भयो ।
सोध्नु होला- कसरी ?
तपाईंको भाषाबाट मैले प्रस्टै बुझेँ- तपाईंलाई अब म चाहिँदैन । मलाई त तपाईं पलपलमा चाहिन्थ्यो । अरुलाई लुकाए पनि तपाईंलाई भन्न मन लाग्यो । मनको कुरा भनेँ । सम्झाउनुहुन्छ/फकाउनुहुन्छ भन्ने सोचेकी थिएँ, तपाईंले त चरित्रसँग जोडेर अपशब्द प्रयोग गर्नुभयो । महिला मन ढुङ्गो हो, धेरै सहन्छ । तर, जब त्यसमा ठूलो चटयाङ पर्छ, माटैमाटो हुँदोरहेछ । जसले पनि सजिलै फुटाउने, उठाउने र लैजानै सक्ने । तपाईंले छाडेको जीवनमा मैले त्यो अनुभव गरेँ । कत्रा-कत्रा पहाड थामेको मेरो सतीत्व त्यसकै परिणाम सजिलै डगमगायो । तपाईंको प्रतीक्षालाई कुर्न सकेन । टिक्न सकेन । कुराइ असीमित थियो । थाहा थिएन- त्यो दिन भनेको हाम्रो सास नगई हो कि गएर आउँथ्यो !
हो, महिला पतिसँग सती गएका उदाहरण छन् । विधवा भए पनि हाँस्दै जिएका उदाहरण छन् । धार्मिक कालदेखि अहिलेसम्म कुनै पुरूष न पत्नीसँगै चितामा जल्न पुगेका छन् । न पत्नी मरी भनेर एक्लै टिकेका छन् । बाध्यतामा जे पनि सहन सक्छे नारी । तर, जब जिउँदो पतिको स्पर्श पाउन सक्दिन, त्यही नारी पलपल जल्दिरहिछे । त्यसको प्रमाण म आफैँ हुँ । र, यो मेरो मनले बोलिरहेछु । आजन्म टाढा हुनुपर्ने के थियो हाम्रो बाध्यता ? केले रोकेको थियो तपाईंलाई उतै ? कुन आसले कुरिरहन बाध्य हुनुपथ्र्यो मैले ?
हो, त्यही भएर मैले आफ्नो बाटो मोडेँ ।
खुकुरीले हानेको अचानोजस्तै छिया-छिया भएको मेरो मनमा अब अर्कैले मल्हम लाइदिएको छ । घाउहरुमा बिस्तारै खाटा बस्दै गएका छन् । दुःखसाथ भन्न बाध्य छु- तपाईंले सिँदूर लाइदिएको त्यही डोबमाथि अर्कैका औँला कुदिसकेका छन् । त्यही गलामा अर्कैले पोते लाइदिइसकेको छ । तपाईंलाई स्वर्गीय आनन्द दिएको यो शरीर अब अर्कैले लुछ्न थालिसकेको छ ।
माफ गर्नुहोला, अब म तपाईंकी छैन । यो जन्ममा हुन सक्दिनँ पनि । तपस्या गरेर सँगै बस्ने विश्वास दिलाउनुभयो भने अवश्यै अर्को जन्ममा तपाईंकै हुनेछु । मलाईचाहिँ जिन्दगीमा तपाईंसँगको भोक अझै मरेको छैन । र, तपाईंजस्तो अरु मान्छे मैले देखेकी पनि छैन । जे भयो- बाध्यताले भयो । तपाईंले ‘आउँछु’ मात्र भनेको भए यो अवस्था आउने नै थिएन ।
आखिर त्यो दिन आइछाडयो । विवशतावश आजै मात्र मैले डेनिससँग बिहे गरेँ । भोलि हामी हनिमुन मनाउन भारतको गोवा जाँदै छौँ । उसले मुम्बई, नयाँदिल्ली सबैतिर घुमाउँछु भनेको छ । म पनि त्यस्तैमा रमाउने प्रयास गर्दै छु । नयाँ जीवन नयै तरिकाले जिउँदै छु ।
संसारमा बुझिनसक्नु आखिर मान्छे नै रहेछ । धरोधर्म मैले तपाईंको जिन्दगीबाट अलग्गिनुपर्छ भन्ने सोचेकी थिइनँ । संसारकै अनुपम पति सम्झन्थेँ तपाईंलाई । सबैभन्दा सुखी घर ठान्थेँ हाम्रो । अर्कातिर डेनिस ! जसलाई सुरूमै पिटेँ, घृणा गरेँ । घृणा गरिरहेँ । पृथ्वी घुमेर दिन र रात भएजस्तै समयले घुमाएर तपाईं डेनिसका ठाउँमा पुग्नुभयो, डेनिस तपाईंका ठाउँमा । समाजका नजरमा म ‘पोइला जाने आइमाई’ भएँ । अनुहार हेरेर कसरी चिन्ने मान्छे ?
तपाईं कुन रमाइलोमा हुनुहुन्छ वा दुःखमा । तपाईंको जीवनमा कोही छ वा छैन, थाहा छैन । मेरो जीवनमा त अब डेनिस छ । मेरो माया, प्रेम, विश्वास र आस्था उही हो । आजीवन साथ दिने कसम खाएको छ उसले । मेरो खुसीका लागि जे गर्न पनि तयार छ ऊ । कृपया, तपाईं एक्लै हुनुहुन्छ भने- मेरालागि भए पनि राम्री केटी खोजेर बिहे गर्नुहोला । मभन्दा राम्री । तर, उसलाई चाहिँ छोडेर कहीँ नजानु होला । किनकि, विवाहित महिलालाई लोग्नेको प्यासले कति जलाउँदो रहेछ भन्ने अनुभव मैले गरेकी छु । अर्की फेरि त्यही आगोमा नजलोस् !
तपाईं त निष्ठुरी हुनु नै भयो । बिचरा आमाको यादले सधैँ सताउँछ मलाई । उहाँले मलाई ‘छोरी’ भन्नुहुन्थ्यो । अब ‘पापिनी’ भन्नुहोला । थुक्नु होला । सहन्छु । आमाको थुक पनि मलाई पवित्र लाग्छ । उहाँले मलाई यति शिक्षित बनाउनुभयो । यो ठाउँमा पुर्याउनुभयो । जन्म दिने आमाले नदिएको माया दिनुभयो । उहाँको समीप नभए पनि फोटो राखेकी छु । सधैँ पूजा गर्नेछु । मेरा देवी-देवता सबै उहाँ नै हो । उहाँलाई भेट्न नपाउँदा भने मेरो मन सधैँ जलिरहनेछ । यो पूरै जन्म उहाँलाई आमा बनाउन नसके पनि अर्को जन्ममा अवश्यै बनाउनेछु । मेरो बाँकी जिन्दगीको तपस्यै त्यही हुनेछ । कृपया, भेट भएपछि आमालाई मेरो ढोग सुनाइदिनुहोला ।
छरछिमेकी र माइतीले मलाई थुक्दा होलान् । तर, इज्जतका लागि तपाईं पैसा कमाउन जानुभयो । मैले पनि पैसाको बिटो लगेर सबैतिर छर्किन सकेँ भने बेइज्जतीको दाग सजिलै पखालिँदो हो । मैले त्यही अठोट गरेकी छु । ठूलो मान्छे हुन पैसा चाहिने रहेछ । त्यो तपाईंले नै सिकाएको हो । मैले पनि अथाह पैसा भएको व्यक्तिसँग दोस्रो बिहे गरेकी छु । आशा छ- सबैकी प्यारी हुन समय लाग्ने छैन । बाँकी धेरै कुरा त समयले मिलाउने नै छ । हेरौँ- बिग्रेको मान्छेको भत्केको घर, भत्किई नै सकेपछि केको डर !
प्यारो जितबहादुर,
यो पत्र पढेर छाँगाबाट नखस्नू । तपाईंसँग बिताएका क्षणहरुलाई सपना ठानिदिनू । अनि, विपनामा बिस्तारै भुलिदिनू । अरु राम्रा सपना देख्दै जानू । तिनीहरुलाई छोप्दै जानू । मेटिँदै जानेछन् नाथे प्रियासँगका पलहरु ! त्यो त एउटा धागो थिई, चुँडिई ठान्नू । अझ दह्रो धागामा मगमग बास्ना आउने फूलको माला गाँस्नू । त्यसलाई ओइलाउन नदिनू । चुँडिन नदिनू ।
तपाईंको जीवन फलोस्/फूलोस् । कुनै दिन जम्काभेट भयो भने ‘प्रिया’ भन्न नभुल्नुहोला । म पनि सम्झनाका दुई थोपा आँसु अवश्यै झारिदिनेछु । त्यति त मैले बचाएकै छु तपाईंकै लागि । मलाई शुभकामना दिन नसके पनि कृपया घृणा गरेर नथुक्नु होला । किनकि, जसले आकाशतिर थुक्छ, फर्किएर थुक त उसकै मुखमा पर्छ ।
जति भूल मबाट भयो- त्यसका लागि माफी चाहन्छु ।
तपाईं पनि आफ्नो भूल प्रायश्चित गरी सफल जीवन जीउनुहोला ।
उही तपाईंकी भएर पनि हुन नसकेकी,
अभागी प्रिया
(अखण्ड भण्डारीको उपन्यास ‘मलाया एक्सप्रेस’ को अंश)