जब त्रिभुवन विमानस्थलमा भेटिए अनेक गरेर विदेशिन खोज्ने युवाहरू!
अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा सोह्र लाखभन्दा बढी नेपाली एक सय पचासभन्दा बढी मुलुकमा गए।
दैनिक करिब चार हजार चार सय जना।
कोही अस्ट्रेलिया, अमेरिका पढ्न गए। कोही चोर बाटो हुँदै रसिया युक्रेनतिर लड्न गए। कोही विदेशका चुचुरा चढ्न गए। कोही अरबको गर्मीमा डढ्न गए। कोही भिजिट भन्दै डुल्न गए। कोही वर्किङ भन्दै काममा भुल्न गए।
विदेशिनेभन्दा स्वदेश फर्किने साढे तीन लाख कम छन्।
जाने-आउनेहरूसँग गफिँदा लाग्छ — नेपालबाट विदेशिनु एकातिर रहर हो, अर्कोतिर बाध्यता।
विदेशिन पाए वैध तरिकाका अलावा कैयौंले नक्कली कागजात तयार, लाखौंलाख खर्च, नक्कली नाता कायम, जस्तोसुकै जोखिम मोल्नुपर्ने हो, मोलेको पनि पाइन्छ।
हुन त अध्यागमनलाई बहारमा जे जस्ता आरोप लगाइए पनि त्यही अध्यागमनले दैनिक कैयौं व्यक्तिलाई ठगिन, लुटिन, पीडित हुनबाट जोगाइरहेको छ। यो उसको जिम्मेवारी नै हो। केही गलत र असफल तरिकाबाट विदेशिन खोज्दा अध्यागमनमा भेटिएका केही प्रतिनिधिमूलक घटना यो लेखमा समेट्न खोजिएको छ।
विवाहको नाममा ठगिनेहरू
हातमा दुई महिनाअघि बनाएको ‘कोरा’ पासपोर्ट। शरीरमा सामान्य पहिरन। अनुहारमा थोरै आत्मविश्वास, धेरै डर। तैपनि चौबीस वर्षीया नेपाली युवतीको विदेशिने रहर।
दुबई हुँदै पाकिस्तान जान त्रिभुवन विमानस्थलको अध्यागमनमा आएकी। बिरानो मुलुक घुम्न निस्किएकी। घुमाउने बयालीस वर्षीय एक जना पाकिस्तानी। लैजाने व्यक्तिबारे युवतीलाई उति जानकारी देखिएन। डेस्कका अधिकृतले सोधपुछ गर्दा पाकिस्तान गएर बिहे गर्ने कुरामा दुवैले बोली मिलाए।
बिहे गर्नै सहमत हुने गरी अलग अलग देशका, अलग संस्कृतिका उनीहरू कसरी जोडिए त एकअर्कासँग?
सामाजिक सञ्जालबाट।
शंकाको पारो झन् बढेपछि केटीको परिवारसँग सम्पर्क गर्न भनियो। बाबाले छोडेर गएका अरे! आमालाई दिएको आश्वासन रहेछ — श्रीलंका हुँदै टर्की जाने, उतै काम गर्ने।
केरकार बढ्यो। पाकिस्तानी नागरिक पटक पटक नेपाल-टर्की-दुबई आउजाउ गरेको देखियो। केटो पहिल्यै विवाहित। तर केटीलाई गुमराहमा राखेको। केटी छाँगाबाट खसेझैं भइन्। चेहराको रङ उड्यो। असिनपसिन भइन्। बिहे गर्ने नाममा लुटिनबाट जोगिएको भाव व्यक्त गरिन्।
उजुरी दिन कुनै प्रमाण छैन युवतीसँग। हिम्मत पनि छै भनिरहेका छन् तिनका थरथराएका हातगोडाले। न अध्यागमनले शंकाको आधारमा कुनै कारबाही गर्न मिल्छ। त्यो उसको अधिकार क्षेत्र पनि परेन। बरू तल मूलद्वारको प्रहरीले गर्न सक्थ्यो। हुलमुलमा प्रहरीलाई छलेर अध्यागमनसम्म पुगे पनि अब आफू पीडित हुनबाट जोगिएको भन्दै विदेश नजाने मुडमा पुगिन्। केटोले खाली हात आफ्नो देशको बाटो समात्यो, केटीले आफ्नो गाउँको।
भारतको बाटो समात्नेहरू
त्रिभुवन विमानस्थल, अध्यागमनको आगमन कक्ष। एयर इन्डियाकी कर्मचारी प्रवेश गर्छिन्। सँगसँगै आउँछन् अनुहारमा ‘आफ्नै गाउँ फर्की आएँ’ गीतको ‘स्याड’ भर्सन बजिरहेको आभास दिने २०-२१ वर्षीया तीन युवती — रोशनी, मुना र रोजिना।
एयरलाइन्सले बुझाएको शिलबन्द खामभित्र ‘भिजिट भिसामा सिंगापुर प्रवेश गर्न अयोग्य’ लेखिएको कागज छ। कुरो बुझियो — सिंगापुर अध्यागमनले प्रवेश नदिई तीनै जनालाई ‘डिपोर्ट’ गरिदिएको रहेछ।
क्रमशः आठ कक्षा, दस कक्षा र प्लस टु उत्तीर्ण। अहिलेसम्म कुनै देश नघुमेका ‘फ्रेस’ पासपोर्टधारी। न आत्मविश्वास बोकेका, न घुम्न चाहिने डलर। न बस्ने, खाने ठाउँ ठेगाना।
भन्छन्, ‘दिल्ली घुम्न गएका थियौं। केही दिन घुम्यौं। अलिअलि किनमेल गरियो। त्यसपछि फेरि अर्को देश जान मन लागेर सिंगापुर गइयो। त्यहाँ त छिर्नै दिएन, त्यसै फर्काइदियो।’
दिल्लीमा बसे-घुमेको ठाउँको नाम सोध्दा एकअर्काको मुख हेरे।
भने, ‘त्यो गेट घुम्यौं।’
बाटोमा जाँदै गर्दा ‘इन्डिया गेट’ देखेछन् क्यार! नाम भन्न जानेनन्। जानुन् पनि कसरी? तेस्रो मुलुक जान सडकबाट नयाँ दिल्ली पुगेका उनीहरू। खर्च र स्वीकृति आमाबाबाको। लहलहै यसरी नै विदेशिएका साथीभाइको। उक्साहट फेसबुकबाट चिनेकी ‘एलिना’ नामक दुबईमा रहेकी एजेन्टको।
उनैले भनेर पासपोर्ट बनाए। पहिले त सबैले नेपालबाटै दुबई जान ‘प्रोसेस’ गरेका थिए। तर चरण चरणमा असफल भए। एक जनाको भिसै लागेन। भिसा लागेको एक जनालाई प्रहरीले नक्कली कागजात भनेर विमानस्थलमा छिर्नै दिएन। गेटबाटै फर्काइदियो। उल्टो पासपोर्ट नै नियन्त्रणमा लिएर बानेश्वरमा बोलायो। भोलिपल्ट आफैं गएर झगडै गर्नुपरेछ सक्कल पासपोर्ट र कागजात लिन।
अर्को एक जनालाई नातासम्बन्ध नभएको, डलर नसाटेको र बैंक ब्यालेन्स देखाउन नसकेको भनेर अध्यागमनले अफलोड गरिदियो।
विदेशिने भूत सजिलै उत्रिए त नेपाली नै भइएन नि! — दुबईवाली एजेन्टको उक्साहटले झन् जोश जगाइदियो।
जे पर्ला पर्ला, भारतको रूट हुँदै दुबईको ‘आजाद भिसा’ प्रयोग गर्ने निष्कर्षमा पुगे युवतीहरू। आजाद भिसा भिसाको प्रकार नभई भिजिटमा गएर इच्छाएको काम गर्न पाइने स्वतन्त्रता हुने भएकाले एजेन्टले दिएको नाम हो।
दिल्ली पुगे पनि दशा फेरिएन। देशबाटै विदेशिन त सजिलो छैन, अर्काको देशमा के आश गर्नु सजिलोको। सिधै दुबई जान त्यहाँको अध्यागमनले नेपाली दूतावासको नो अब्जेक्सन सर्टिफिकेट खोज्छ। त्यो सहजै पाइने कुरै भएन। त्यसैले एजेन्टले सिंगापुरको रूट बताइन्। टिकट काटिदिइन्। दिल्लीबाट त उडे तर सिंगापुर छिर्न पाएनन्।
सिंगापुरलाई ट्रान्जिट बनाएर हिँडेकामा त्यहाँको अध्यागमनले केरकार गर्यो। एक जनासँग कुवेतको दुई जनासँग दुबईको ‘एक्टिभ’ भिसा भेटेपछि शंकास्पद भनेर तिनका सबै कागजात जफत गरिदियो। दुई दिन सुरक्षा निगरानीमा राख्यो। काठमाडौं फर्किने टिकट काट्न लगायो। हातमा बोर्डिङ पास थमाएर बाँकी डकुमेन्ट शिलबन्दी गरेर पठायो।
आउँदा जाँदाको टिकट खर्च। बस्दा खाँदाको खर्च। अलिकति किनमेल खर्च। एजेन्टलाई दिने खर्च। साढे तीन लाख रूपैयाँ प्रतिव्यक्ति ‘झ्वाम’ भइसकेछ।
झन् सिंगापुर अध्यागमनको पत्रमा ‘सिंगापुर एयरपोर्टमा बस्दाको सेक्युरिटी चार्ज जनही ४८ हजार रूपैयाँ असूल गरी पठाउनू’ लेखेको देखेपछि देब्रे हात गालामा टेकोझैं ठड्याएर सोचमग्न मुद्रामा रोजिना बर्बराउँदै भन्छिन, ‘चार लाखै पो नाघ्यो! यत्रै उमेरमा दुःख पनि अति पायो। बाबाआमालाई लागेको ऋण कसरी तिर्ने हो? जान त विदेशै जाने हो, तर अब मिलाएर। कम्पनीबाटै जाने,’
डुप्लिकेट डिपेन्डेन्ट बनाउनेहरू
केटाकेटी सँगै विदेशिन अध्यागमनमा आए। वल्लो पल्लो डेस्कमा। गन्तव्य अस्ट्रेलिया। इञ्जिनियरिङ गर्न हिँडेकी महेन्द्रनगरकी केटीको ‘स्टडी’ भिसा। पोखराबाट बि.एड गर्दै गरेका ‘डिपेन्डेन्ट’ भई जाने म्याग्दीको केटो। मंगला गाउँपालिकाको कुनै वडाबाट जारी विवाह दर्ताको प्रमाणपत्रको फोटोकपी केटाले अकमकिँदै देखाए। हेर्दै दुवै विवाहित जोडी भनेर विश्वास गर्नै नसकिने।
अनुमानको आधारमा निर्णय लिने त होइन। तर अनुमानलाई बल दिने प्रमाणहरू थिए — केटीको निधारमा टिकोटालो, केटाको निधार रित्तै। एकअर्काको नामबाहेक अरू कुरा थाहा नहुनु। मोबाइलमा एकअर्काका फोटो समेत नहुनु।
बिहे दर्ताको सक्कलै प्रमाणपत्र खोज्दा भन्छन्, ‘मोबाइलमा फोटो मात्र छ।’
दैनिक त्यही काम गर्दै आएका कर्मचारीलाई लाग्यो — दालमे कुछ काला है!
थप बुझ्नैपर्ने भयो। सार्वजनिक बिदाको दिन, यता पो चौबीसै घन्टा खुल्छ। उता पालिका त बन्द छ।
जेनतेन विवाह दर्ता गरिएको भनिएको वडाको एमआइएस अपरेटरलाई सम्पर्क गर्दा भन्छन्, ‘विवाह दर्ता नम्बर बाहेक सबै विवरण गलत हुन्। अरू कसैको विवाह दर्तामा दर्ता मिति, दुलहा दुलहीको नाम, जन्म मिति सबै आफ्नो विवरण राखेर नेपाली कागजमा दुरूस्तै फोटोकपी गरिएको हुनुपर्छ।’
विवाह त वडा कार्यालयमा दर्ता नभएर ‘बागबजार’ मा दर्ता भएको रहेछ।
‘स्टडी’ भिसामा जाने केटीलाई प्रस्थान दिन समस्या भएन। तर उनलाई पठाउँदा केटोलाई अन्याय हुने देखियो। किनकी पर्दा पछाडिको कथा यस्तो रहेछ — केटा विदेश मोहले जेसुकै खर्च गर्न तयार। कन्सल्टेन्सीले यही मौकामा भिसा लागिसकेकी केटीलाई भेटाई मात्र दिएन, मोटो रकम लिएर ‘डिपेन्डेन्ट’ मा लैजान सहमतै गरेछ। केटीको आधा खर्च बेहोर्न लगाएछ।
ढाँट्न खोजेको पत्तो पाएपछि श्रीसम्पत्ति दाउमा राखेर भिसा लगाएको केटोको ओठतालु सुक्छ। केटी पनि गल्ती स्वीकार गर्छिन्। २८ लाख खर्चेको केटोलाई मात्र फर्काउनु पनि अध्यागमनने ‘लजिकल’ देखेन।
अब के गर्ने?
सल्लाह गर्न भनियो। लेनदेनदेखि सबै व्यवहार मिलाएर मात्र जाने गरी दुवै जना फर्किने भए। उनीहरूलाई त अध्यागमनले समात्यो, नसमातिएरै कति जान्छन् होला।
फर्किँदा भन्दै थिए, ‘अध्यागमनले यतिसम्म पत्तो लगाउला भन्ने सोचेकै थिएनौं। अब साँच्चिकै विवाह दर्ता गरेर विदेश जानेछौं।’
उनीहरू विवाह दर्ता गर्न म्याग्दी नै पुगे पुगेनन्, उनैले जानून्। तर अस्ट्रेलिया पुगिसके होलान् किनकि छोटो सोच, गरिबी, अभाव र ढिलासुस्तीले गलत र नक्कली काम गर्न सिकाएकै छ विदेशिनेहरूलाई।
चीन छिर्न नसक्ने दिदीबहिनी
कास्कीकी कविता, धादिङकी धारणा। उन्नाइस-उन्नाइस वर्षका। दिदीबहिनी अरे नातामा। दिदी र भाइका छोरीहरू। पिठ्युँमा एक थान झोला र हातमा एकएक थान मोबाइलबाहेक साथमा केही छैन। हिँडेका चाहिँ चीन यात्रामा।
साठी दिनको एल अर्थात् भिजिट भिसा टाँसिएको पासपोर्ट छ। उनीहरूभन्दा एक वर्ष जेठी, केही महिना पहिले चीन गएकी अर्की दिदीकी छोरी सिन्धुलीकी सोनियाले उता घुम्न बोलाएकी अरे!
दुवै जना अहिलेसम्म पोखरा, धादिङ र काठमाडौंबाहेक कतै गएका छैनन् घुम्न। बाबा दुवैका विदेशमा अरे! एक जनाको भारतमा, अर्कोको युएईमा। नियमित सम्पर्कमा नभएकाले बाबाहरूलाई थाहा छैन अरे तिनको यात्राबारे। बोलाउनेले ‘इन्भिटेसन लेटर’ पठाउँथे अरूको, यिनको पनि छ तर नभरेको खाली पानो।
बीस वर्षीया सोनियाले १९ वर्ष जेठो चिनियाँसँग बिहे गरेको देखिने कास्की जिल्ला अदालतको विवाह दर्ता प्रमाणपत्रको धमिलो फोटो छ मोबाइलमा। साँचो, झुटो के हो — प्रमाणित गर्न सकिँदैन।
१४६ दिन नेपाल बसेको देखिन्छ ‘भिनाजु’ पर्ने चाइनिज। विवाह गरेर दुवै जना दुई महिनाअघि चिङ्दाओ गएको पनि अभिलेखबाट प्रमाणित हुन्छ। उनै चाइनिजले सबै खर्च बेहोरेर चाइना लैजाँदैछ यसपालि।
उनीहरू बिहान पाँचै बजे एयरपोर्ट प्रवेश गरेको, एयरलाइन्सले डेढ घन्टा झुलाएर बोर्डिङ-पास दिएको बुझियो। विमानस्थलभित्र छिर्नुअघि प्रहरीले सोधपुछ गर्नुपर्ने यस्ता शंकास्पदलाई। कसरी छिरेछन्? पौने दस बजेको फ्लाइट छ। आठ बजे अध्यागमन काउन्टरमा आइपुग्छन्। पन्ध्र मिनेटमै एयरलाइन्सको कर्मचारी उनीहरू जान्छन् कि फर्किन्छन् भन्दै शंकास्पद तरिकाले चासो राख्न आइपुग्छन्।
पूरै परिदृश्य गोलमाल देखिएपछि अध्यागमनले दुवै जनाको आमाको मोबाइल नम्बर लिन्छ।
धारणाकी आमा भन्छिन्, ‘श्रीमानसँग सल्लाह भएरै पठाको हो।’
अघि धारणाले बाबा सम्पर्कमा नरहेको भनेको असत्य प्रमाणित भयो। आमाका अनुसार बाबा विदेश होइन, बिरामी भएर धादिङ अस्पतालमा उपचाररत छन्। उनी कुरूवा बस्नुपर्ने भएकाले छोरीलाई छोड्न आउन नभ्याएकी हुन्।
यता कविताकी आमालाई सम्पर्क गर्दा दूधे बालक रोएको बाहेक आवाज सुनिएन।
घुम्न चाइना जाने अरे! जाने सहरको नाम भन्न जान्दैनन्। डलर वा सो देशको मुद्रा साट्नुपर्छ पनि थाहा छैन। होटल बुकिङ समेत गरेको छैन। लिन को आउँछ — थाहा छैन।
चाइनिज भाषामा ‘म विदेशी हुँ। यहाँको बारेमा केही थाहा छैन। वाङ भन्ने कोही हुनुहुन्छ?’ भन्ने आशयको प्लाकार्डको फोटो बाहेक केही छैन साथमा।
कतै नघुमेका। भाषाको ज्ञान नभएका। पोखरामा सेल्सको काम गर्ने अरे! न आत्मविश्वास छ, न सूचना।
छ त केबल विदेश मोह।
अन्ततः भविष्यको खोजीमा डेढ अर्बको भीडमा हराउन चीन हिँडेका दिदीबहिनी अध्यागमनबाटै अफलोड भए।
(लेखमा प्रयोग भएका सबै नाम परिवर्तित हुन्।)
(लेखक गोकर्णप्रसाद उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)