सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै │ होम कार्की
होम कार्की । २०७७ । सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै । काठमाडौँ : किताब पब्लिसर्स प्रा.लि. ।
वर्तमान नेपालको आर्थिक र सामाजिक लगायत हरेक क्षेत्रमा वैदेशिक रोजगारीको गहिरो प्रभाव छ । त्यसको प्रतिबिम्ब नेपालको अर्थतन्त्रका सूचकदेखि लिएर यहाँ हुने सार्वजनिक बहस, साहित्यिक/सांगीतिक तथा प्राज्ञिक उत्पादनमा देख्न पाइन्छ । अर्थात् वैदेशिक रोजगारी नेपालको आर्थिक विश्लेषणको विषयमात्र होइन कि साहित्यिक, सांगीतिक र प्राज्ञिक उत्पादन र सार्वजनिक बहसको विषय बन्न पुगेको छ । यसै सिलसिलामा वैदेशिक रोजगारीमा गएका पात्र र विषयहरूमाथि केन्द्रित पछिल्लो कृति हो पत्रकार होम कार्कीद्वारा लिखित पुस्तक सनैया । कान्तिपुर दैनिकको कतार ब्यूरो प्रमुखका रूपमा त्यहाँ कार्यरत रहँदा आफ्नो दैनिक पेशागत कर्मसँगै व्यक्तिगत रुचि र प्रयासमा लेखकले संकलन गरेका सूचना र तथ्यमा यो पुस्तक तयार हुन पुगेको देखिन्छ ।
सनैया फरक-फरक पात्रहरूको वैदेशिक रोजगारीका संघर्ष र भोगाइलाई समेटी १८ ओटा शीर्षकमा विभाजन गरेर लेखिएको पुस्तक हो । पुस्तकको पहिलो अध्यायमा कतारसँग नेपालको वैदेशिक रोजगारीको इतिहास कसरी शुरू भयो भन्ने वृत्तान्त छ । यो बाहेक वैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दा वा विषयवस्तुका हिसाबले हेर्न हो भने पुस्तकले मोटामोटी नौ ओटा विषयलाई उठाएको छ भन्न सकिन्छ । तिनमा वैदेशिक रोजगारीमा जाँदा गरिने सम्झौता, सेवा शुल्क अनि त्यसका नाममा दिइने शासना साथै गइसकेपछि गन्तव्य देशमा लागू हुने कानूनी प्रबन्धले निम्त्याएका झञ्झट; कार्यस्थलमा कामदारको कमजोर सुरक्षा प्रबन्ध; गन्तव्य देश बारेको श्रमिकको परिकल्पना र यथार्थ बीचको बेमेल; अदालती प्रक्रिया साथै कानून पालनाका प्रबन्धक्रममा बेहोर्ने हैरानी; वैदेशिक रोजगारीको सामाजिक मूल्य; प्रेम; दासप्रथा झैँ लाग्ने श्रमिकको किनबेच; वैदेशिक रोजगारीमा प्राप्त सफलता साथै परदेशमा मरेपछि पनि आइलाग्ने कानूनी अड्चन जस्ता विषय पर्दछन् । श्रमिकसँग गरिने सम्झौता, सेवा शुल्क अदालती र कानूनी प्रक्रियाका नाममा पाइने दुःख र प्रताडनाका सात ओटा कथा छन् भने वैदेशिक रोजगारीको अर्को पाटो सामाजिक मूल्य सम्बन्धी दुई ओटा कथा छन् । बाँकी अन्य कथाले विविध सामाजिक परिवेशका वर्णन गरेका छन् । अर्को कोणबाट हेर्ने हो भने १६ अध्यायमा मरुभूमिका दुःख र वेदनाका कथा छन् भने दुई ओटा अध्यायले प्रेम र हौसलाका गाथा गाएका छन् ।
पुस्तकका १२ ओटा अध्यायमा कतारका कथा छन् । त्यस बाहेक अरू अध्यायले कुवेत, साउदी अरब र मलेशियाका कथा पनि समेटेका छन् । यहाँ कथा भनिए पनि यी साहित्यमा पढिने कथा होइनन् कथा जस्ता लाग्ने वास्तविकता हुन् । लेखक आफै चार वर्षभन्दा बढी समय कतारमा बसेको भएर पनि हुनसक्छ पुस्तकमा कतारका कथा नै धेरै छन् । लेखकले पुस्तकमा राखेका या भेटेका धेरै पात्रको भूगोल पनि संयोगवश हो या अवस्था नै त्यस्तै हो, कर्णाली पूर्वका पात्रका कथा नै धेरै छन् । कर्णाली र सुदूरपश्चिमका धेरै श्रमिकहरू अन्य क्षेत्रका तुलनामा भारतको रोजगारीमै धेरै भएकाले पनि हुनसक्छ । तथापि, कर्णाली र त्यस पारीको भूभाग पुस्तकमा किन छुट्यो भन्नेबारे पुस्तक मौन छ ।
सन् १९८६ नोभेम्बर २० मा पहिलो पटक कतार टेकेका स्याङ्जाका अमिर हम्जाको आँखाबाट कतारको स्मृति वर्णन गर्दै पहिलो अध्याय शुरू भएको छ । “पुरानो दोहादेखि नयाँ दोहासम्म” नामको यो अध्यायमा लेखकले ३१ वर्ष कतारमा बिताएका अमिर, करिम र अब्दुल्लाहका आँखाबाट कतारमा यी तीन दशकमा आएको परिवर्तन देखाउन खोजेका छन् । एउटा व्यक्तिको जीवनका ३१ वर्ष उसको समग्र जीवनको उत्पादनमूलक काममा सक्रिय रहने एक जुनी सरह नै हो । आधुनिक कतार निर्माणका यो तीन दशकको अन्तरालमा कतार आफू त कायापलट भएको छ तर कतारलाई कायापलट गर्न सघाउने परिश्रमी मजदूरका दुःख र वेदना भने अझै उस्तै रहेको यथार्थ पुस्तक पढ्दै जाँदा थाहा हुन्छ । अमिर कतार उत्रिएको चार वर्षपछि मात्रै दोहा शहर निर्माणको गुरुयोजना कार्यान्वयनमा आएको थियो र अहिले वैदेशिक रोजगारीको आकर्षक गन्तव्यका रूपमा कतार स्थापित छ । अमिर हम्जाले ३१ वर्षअघि मासिक पाँच सय रियाल तलबमा काम पाएका थिए । अहिले उनीजस्तै लाखौँ नेपाली पुगिसक्दा पनि श्रमिकको न्यूनतम तलब यो तीन दशकमा दोब्बर अर्थात् एक हजार रियाल पनि भएको छैन । मजदूरका श्रमको मूल्य थाहा पाउन यो एक उदाहरण काफी छ ।
कार्यस्थलमा हुने श्रमिकको कमजोर सुरक्षा प्रबन्धबारे “रियालमा झुण्डिएको जीवन” शीर्षकको अर्को अध्यायमा निकै पीडादायी वर्णन छ । गगनचुम्बी निर्माणाधीन घरमा जियाउल प्लम्बिङको काम गरिरहेका थिए । लिफ्टबाट उक्लने क्रममा एक दिन उक्त लिफ्ट अकस्मात् चलेपछि सन्तुलन गुमाएर ३५ औँ तलाबाट खसेर भुइँमा बजारिँदा उनको त्यहीँ प्राणान्त भयो । यसले कार्यस्थलमा कामदारको सुरक्षा अवस्था बोध गराउँछ । जियाउल खसेर रगतको आहाल बन्दा विक्षिप्त बनेका उनका साथी गिरिन्द्रको मनोदशा मात्र होइन, जियाउलको शव घर ल्याउने क्रममा श्रमिकको परिवार र साथीभाइले भोग्नुपर्ने पाइलै पिच्छेको सास्तीको इतिवृत्तान्त पनि यस अध्यायमा छ । साथै, लास नेपाल पठाउने क्रममा कम्पनीबाट मृतक श्रमिकका परिवारले पाउने सुविधाबाट वञ्चित गरिने अन्यायपूर्ण व्यवहारको वर्णनले पनि पुस्तक पढ्नेको कन्सिरी तताउँछ ।
“मान्छे किन्नेहरूको शहर” शीर्षकको अध्यायमा धन आर्जन गरी सुखद् भविष्यको सपना साँच्दै घरेलु कामदारको रूपमा कुवेत गएकी एलिनाको वस्तुसरी भएको किनबेचको वर्णन कम मार्मिक छैन । त्यस्तै, उँट गोठाला गनिराम गुरुङको सात वर्ष लामो एकान्तवास र यातनाको कथा “जंगलमा कानून लाग्दैन” शीर्षकको अध्यायमा वर्णित छ । यसले आधुनिक युगमा पनि “दासप्रथा” कायमै रहेको झल्को दिन्छ । यस बाहेक न्यायको खोजीमा होस् अथवा मरुभूमिमा खर्च नभएर अलपत्र परेका मजदुर र तिनको घर फर्कने प्रयासमा नेपाली दूतावासको निरीहताले दूतावासको औचित्यमै प्रश्न उठाउँछ । पुस्तकमा समेटिएका धेरैको समान भोगाइ के छ भने एक कामका लागि भनेर लगिएका श्रमिक अर्कै काममा जोतिनु परेको छ । र, गन्तव्य देशको कानूनी अड्चन, प्रबन्धका कारण कैयौँ सास्ती खेपेका छन् । नारकीय झैँ लाग्ने बासस्थान, माथिल्लो तहका कर्मचारीबाट श्रमिकले पाउने गाली, अभद्र व्यवहार र यातना, निर्दोष हुँदाहुँदै पनि भोग्नुपरेका जेलनेलका कथा र काम गर्दागर्दै प्राण गुमाएका लाशमाथि आइपरेका कानूनी अड्चनको वर्णनले श्रमिकमाथि पराया भूमिमा हुने गरेको अत्याचारको दृष्टान्त उजागर गर्छ । यस्ता दृष्टान्तले तिनका लागि आफ्नो देश वा सरकार कहाँ छ भन्ने पेचिलो प्रश्न जन्माउँछ ।
दुःख र वेदनाका कथा बाहेक पुस्तकमा दुई ओटा अन्य अध्याय छन्, जसमा प्रेम र सफलताको बयान छ । पुस्तकको बाह्रौँ अध्याय “अह्बक राजकुमार, अह्बक” मा स्याङ्जाका राजकुमार खत्रीको एकतर्फी प्रेमको रोचक कथा छ । काम गर्ने कम्पनीकै मालिककी छोरी मरियमको राजकुमारसँग एकतर्फी प्रेमको वर्णन रमाइलो छ । मरियमको वास्तविक तर एकतर्फी प्रेमको प्रसंग पढ्दै जाँदा वर्गीय रूपमा दुई ध्रुवमा रहेका यी प्रेमिल जोडी वर्गीय खाडलकै कारण एउटाको प्रेम अर्काका लागि गलपासो बन्न पुगेको भान हुन्छ । यस पछिको अध्याय “सञ्जीवको उडान” भने वैदेशिक रोजगारीमा जाने र जान खोज्नेहरूका लागि प्रेरणादायी छ । औपचारिक शिक्षा नभए पनि नेपालमै थोरै सिके/जानेको सीपलाई आफ्नो काममा उपयोग गर्न जान्दा पोखराका सञ्जीव रानाभाटले कतारमा पाएको सफलताको बयान यो अध्यायमा छ । जाँदा मजदूरकै हैसियतमा गए पनि त्यहाँ पुगेपछि आफूले प्रदर्शन गरेको सीप र क्षमतासँगै उनी कम्पनीमा प्रशासनको नेतृत्व तहसम्म पुग्न सफल भएका थिए । उनले प्राप्त गरेको उचाइबारे गरिएको सजीव चित्रणले प्रारम्भमा सीपको मूल्यलाई कम आँकिए पनि पछि त्यसले कदर पाउँछ र काम अनुसारको ज्याला पाउन निकै ठूलो सहयोग गर्छ भन्ने देखाउँछ ।
वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपाल उदार अर्थतन्त्रमा प्रवेश गरेसँगै जीविकोपार्जनका विकल्पहरू पनि फराकिलो हुँदै जाने र नागरिकको जीवनस्तर परिवर्तन हुने अपेक्षा थियो । यद्यपि अपेक्षा अनुरूप कृषिमा राज्यको लगानी र आधुनिकीकरणको अभाव रह्यो भने देशभित्र औद्योगिक वातावरण बन्न सकेन । देशभित्रै उपयुक्त रोजगारी तथा अन्य पेशा व्यवसाय गर्ने अवस्था नहुँदा गरिबी, बेरोजगारी, असमानता र विभेदले पिल्सिएका पीँधका मान्छेका लागि वैदेशिक रोजगारी (विशेष गरी खाडी राष्ट्रमा अदक्ष कामदारका रूपमा) निर्विकल्प बन्न पुग्यो । यसले सरल भाषामा भन्नुपर्दा गरिब नेपालीलाई दुई छाकको जोहो गर्न, सन्तानलाई शिक्षादीक्षा दिन र वृद्ध अभिभावक लगायत परिवारको स्वास्थ्योपचारमा थोरै भए पनि खर्च गर्नसक्ने र धेरैजसोका लागि शहरबजारमा घरघडेरी जोड्नसक्ने अवस्थामा पुऱ्यायो । यो पाटोलाई नजरअन्दाज गर्न मिल्दैन र धेरैले यसबारे बोलेका लेखेका छँदैछन् । तैपनि त्यसका पछाडि वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारले झेल्नुपरेका अनगिन्ति कहर पनि उत्तिकै महत्त्वपूर्ण हिसाबले उठाइनुपर्ने विषय हुन् । पुस्तक जहाँबाट या जुन अध्यायबाट शुरू गर्दा पनि पाठकलाई तान्छ । लेखक कार्कीले सतहमा ल्याएका कथा र पात्रहरू केही प्रतिनिधि उदाहरणमात्र भए पनि वैदेशिक रोजगारीलाई सुव्यवस्थित गर्दै नेपाली श्रमिकले भोगेका समस्याहरू सम्बोधन गर्न आवश्यक नीति निर्माण गर्न तिनले नीति निर्माताका आँखा खोल्छन् ।
लेखकले पुस्तक तयार पार्न ५४० जनाको अडियो र भिडियो अन्तर्वार्ताको संग्रह साथै समाचार लेख्दाका थुप्रै नोट टिपोटलाई आधार बनाएको उल्लेख गरेका छन् । नेपाली मजदूरलाई पछयाउँदै उनीहरूसँगै बसेर उनीहरूकै जीवनशैली अपनाएर श्रमिकका मन भित्रबाट कथा उधिनेेका छन् । त्यस बाहेक त्यहाँ भेटेका कतिपय पात्रहरूलाई नेपालमा आएर पनि उनीहरूको घरैसम्म पुगेर पछ्याएका छन् । त्यसैले पुस्तकमा दृश्य, परिदृश्य, वातावरण, परिवेश, संकेत सबै भेट्न सकिन्छ । यसरी हेर्दा पुस्तकले मानवशास्त्रीय अनुसन्धानमा प्रयोग हुने एथ्नोग्राफी विधि अँगालेको देखिन्छ । पुस्तकको वर्तमान आकार र त्यसको निर्माणका लागि लेखकको व्यक्तिगत आर्काइभ बलियो देखिए पनि तथ्य तथ्यांकको प्रस्तुतिलाई अझ विश्वसनीय बनाउन त्यो आर्काइभलाई अझ व्यवस्थित ढंगले पुस्तकमा प्रयोग वा उद्धृत गर्न सकिन्थ्यो, जुन भएको देखिँदैन । उदाहरणका लागि कति सन्दर्भहरूका बारेमा सम्बन्धित पृष्ठमै पाद टिप्पणी वा कोष्ठकमा अन्तर्वार्ता लिइएको मिति र स्थान राख्न सकिन्थ्यो । आउँदो संस्करणमा यसतर्फ ध्यान दिन सकिन्छ ।
दुःखका यावत बयान र वेदनाको वर्णन गर्दैगर्दा पुस्तकले वैदेशिक रोजगारीसँग अनन्य रूपमा गाँसिएको सीपको क्षेत्रलाई भने समेट्न सकेको छैन । वैदेशिक रोजगारीलाई नै लक्षित गरेर देशभित्र सञ्चालन भएका थुप्रै तालिम प्रदायक संस्था पनि छन् । वैदेशिक रोजगारीमा जानुपूर्व तिनले यहाँ सिकाएको सीप वास्तविक कार्य क्षेत्रमा कति काम लाग्यो वा केवल प्रमाण पत्रमा मात्र सीमित भयो भन्ने पाटो पुस्तकमा खासै केलाइएको छैन । वैदेशिक रोजगारीका नाममा हुने छोटा प्रकृतिका तालिमको प्रचलन अद्यापि कायमै छ । वैदेशिक रोजगारीमा जाँदा सीपको माग हुने र त्यसको प्रतिफल पनि राम्रै आउने यथार्थ हुँदाहुँदै वैदेशिक रोजगारीमा अहिलेसम्म पनि करिब ८० प्रतिशत अदक्ष कामदार गएको तथ्य सरकारकै निकायले उल्लेख गरेका छन् । पुस्तकमा देशमै सीप सिकेर गएकाहरू र पूरै अदक्ष कामदारका रूपमा त्यहाँ पुगेकाहरू बीचको तुलनात्मक लाभहानिलाई समेट्न सकेको भए तस्बिर अझ सांगोपांगो आउँथ्यो ।
वैदेशिक रोजगारका कथा-व्यथा समेटिएर लेखिएको पुस्तक यो पहिलो भने होइन । यो पुस्तक निस्कनुभन्दा अघि पनि यस्तै विषयवस्तुलाई केन्द्र बनाएर पत्रकार जनकराज सापकोटाको कहर तथा अर्का पत्रकार देवेन्द्र भट्टराईको रेगिस्तान डायरी पनि प्रकाशन भइसकेका छन् । अघिल्ला दुई पुस्तकमा भन्दा यसमा पात्र र परिवेशको चित्रण अझै जीवन्त लाग्छ । लेखक पेशाले पत्रकार भए पनि उनले पत्रकारको आँखाबाट मात्र खाडी देशका नेपाली श्रमिकको जीवन नियालेका छैनन्, बरु एक नेपाली मित्रका रूपमा आफै तिनका दुःखमा सामेल भएका छन्, कति दिन वा रात सँगसँगै बिताएका छन् र फर्केर नेपालमा तिनका घरपरिवारसम्म पुगेर भेटेको सम्मको चर्चा गरेका छन् । लेखकका यिनै गतिविधिले नै विषयलाई अझ जीवन्त बनाउन सहयोग पुऱ्याएको छ । समग्रमा भन्नुपर्दा वैदेशिक रोजगारीमा जान चाहने, यस विषयबारे सोधखोज गर्न रुचि राख्ने र नीति निर्माण गर्ने सबैका लागि पुस्तक पठनीय एवं संग्रहणीय छ ।
Source: https://www.martinchautari.org.np/blogs/sanaiya-sa17