घरको चौघेरा नाघेर कमाउन जाँदा चरित्रमा किन उठ्छ प्रश्न?
परिवारकै आर्थिक संकट टार्न महिलाहरू वैदेशिक रोजगारीमा जाँदा उनीहरूको श्रम र क्षमताको अवमूल्यन गर्दै सोझै चरित्रमाथि औंला उठाइँदा धेरै घर छिन्नभिन्न भइरहेका छन्।
गत असोजको अन्तिम साता जिल्ला अदालत, झापा बाहिर भेटिंदा उनी हतास थिइन्। श्रीमान्सँग कलह बढेर सँगै बस्न नसक्ने भएपछि दाम्पत्य सम्बन्ध सधैंका लागि अन्त्य गन उनी अदालत पुगेकी थिइन्। कलहको कारण थियो- वैदेशिक रोजगारी।
घरको आर्थिक अवस्था उकास्न २०७४ को चैतमा श्रीमान्सँगको सल्लाहमै उनी मलेशिया गएकी थिइन्। एक निजी कम्पनीको सम्पर्कबाट गएकी उनले त्यहाँ ठूल्ठूला मशिन चलाइन्। दुई वर्षको सम्झौतामा गए पनि परिवारकै सल्लाहमा चार वर्ष काम गरिन्। त्यही कामको कमाइले झापामा श्रीमान्ले अटो चलाउन सहकारीबाट निकालेको ऋण चुक्ता गरिन्, सन्तानलाई राम्रो विद्यालयमा पढाइन्। घरको मुहार पनि फेरिन्– माटाको भित्ताको ठाउँमा सिमेन्ट र थाकलको छाना हटाएर जस्ता।
सबै ठीकठाक चल्दै थियो। श्रीमान्सँगको सम्बन्ध कति वेला चिरा पर्यो उनले पत्तै पाइनन्। कमाउन थालेपछि परिवारसँग टाढा हुनुको दुःख बाहेक अरू दुःखका पहाड सम्मिंदै गएका थिए। आर्थिक रूपमा सबल भएसँगै उनको रहनसहन स्वाभाविक रूपमा परिवर्तन हुँदै गयो। तर त्यो परिवर्तनलाई गलत रूपमा व्याख्या गरेर गाउँमा कसैले हल्ला चलायो, “तेरी श्रीमती त मलेशियामा ठाँटिएर हिंड्छे, ‘नराम्रो’ काम गर्छे रे, गाउँकै मान्छेलाई पनि नचिने जस्तो गर्छे रे।”
कसैले ‘अरे’ को भरमा गरेको कुरामा विश्वास गरेर श्रीमान् उनीसँग फोनमा झर्किन थाले। नेपाल तुरुन्त आइहाल् भन्न थाले। घरको आर्थिक अभाव पुरिंदै गएको वेला एकाएक आफ्नै अस्मितामाथिको प्रश्न सामना गर्नुपर्दा उनी आहत भइन्।
सम्बन्धमा आएको त्यो खटपटले अन्ततः उनको दाम्पत्य जीवन नै उजाडियो। “म झापा नै बसेको भए शायद मेरा श्रीमान्ले ममाथि यस्ता झूटो आरोप लगाउने थिएनन् होला,” उनले आफ्नो विदेश यात्राप्रति नै विस्मात पोखिन्। खासमा परिवार भत्किनुमा आफैंलाई दोषी मान्दै थिइन् उनी।
आफूले गर्दै नगरेको गल्तीमा आत्मग्लानि बोकेर बाँच्नुभन्दा ठूलो सजाय अर्को के होला? वैदेशिक रोजगारीमा गएकै कारण परिवार र समाजले लगाएको चारित्रिक लाञ्छनाले दपेटिएका महिलाहरू यस्तै ग्लानिको भासमा छन्। उनीहरूले विदेशमा गर्ने काम र कमाइमाथि घरपरिवार र समाजले सधैं शंकाको नजरले हेर्छन्। इमानका साथ परिश्रम गरेर कमाउँदै गर्दा बेइज्जती भोग्नुपरेर आफैंलाई दोषी ठानिरहेका यस्ता महिलालाई ग्लानिको भासबाट निकाल्न मनोपरामर्शको ठूलो खाँचो छ।
घरको चौघेरा नाघेर काम गर्न हिंडेका अधिकांश महिलाले आफ्नो चरित्रमाथि अनेक प्रश्न सामना गर्नुपर्ने हुन्छ। जसको उत्तर दिंदादिंदै हत्तु भएर कतिले सम्बन्ध सधैंका लागि अन्त्य गर्ने निर्णय लिन्छन्, कतिले लाञ्छना, अपमान र गालीगलौज चूपचाप सहेर बस्नुको विकल्प देख्दैनन्। अविश्वास र शंकाको परीक्षामा चरित्रबारे सोधिएका हजार प्रश्नको उत्तर दिंदा दिंदा महिलाहरू थाकेका छन्। त्यही थकानको जिन्दगीबाट उठेकी अर्की महिलासँग कामको सिलसिलामा भेट भएको थियो।
उनी २०७० सालमा मलेशियामै काम गर्न गएकी थिइन्। उनले चिनेजानेका केही गाउँले पनि उनी काम गर्ने कम्पनीमै काम गर्थे। उनी विदेश गएको एक वर्ष नबित्दै उनका श्रीमान् पनि मलेशिया पुगे। श्रीमान् र उनी काम गर्ने ठाउँको दूरी झापा र काठमाडौं जत्तिकै थियो।
त्यहाँ पुगेपछि श्रीमान्ले आफूलाई भेट्न आउन दबाब दिन थाले। साताको एक दिन छुट्टी हुन्थ्यो, त्यसमा पनि कहिल्यै नगएको शहर एक्लै जान उनले आँट गरिनन्। श्रीमान्को करकर घटेन। श्रीमान्लाई आफू बसेको शहरमा आउन अनुरोध गर्दा आएनन्। भेट्न नगएपछि श्रीमान् रिसाए। मलेशियामै छापिने साप्ताहिक पत्रिकामा आफ्नी श्रीमतीबारे खबर छपाए- ‘सन्तान र श्रीमान्लाई बिचल्ली बनाएर मलेशियामा परपुरुषसँग मस्ती।’
यो खबर छाप्नुअघि पत्रकारले एक पटक पनि उनीसँग कुरा गरेका थिएनन्। उनको फोटो सहित छापिएको त्यो खबर उनले काम गर्ने कम्पनीसम्म पुग्यो। कम्पनीमा नचिनेका नेपालीले पनि उनलाई चिने।
त्यही खबर छापिएको पत्रिका बोकेर उनका श्रीमान् नेपाल फर्किए। गाउँभरि हल्ला चल्यो। सन्तानले पनि आमामाथि प्रश्न गरे। तर हुर्कंदै जाँदा सन्तानले बुबाको नियत खोटो रहेको बुझ्न थाले।
सन्तानको साथ पाएपछि उनले आफूमाथि लागेको चारित्रिक लाञ्छनाको डटेर सामना गरिन्। उनी अहिले आफ्नै गाउँ फर्केर पसल चलाइरहेकी छन्। छोरालाई प्लस टूसम्म पढाइन्। छोराकै इच्छा बमोजिम विदेश पठाइन्। ढल्कँदो उमेरमा जवानीमा पाएका कैयौं चोटको सम्झना छैन तर उनको मनमा गढेर बसेको एउटा प्रश्न छ– परिवार र सन्तानको भविष्यका लागि मेहनत गरेर पैसा कमाउँदा पनि किन महिलाको चरित्रमाथि औंला उठाइन्छ?
गत १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा झापाको एक पालिकामा आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपमेयर खड्गमाया पराजुलीले भनिन्, “मेरो एक जना मिल्ने साथी विदेशमा छिन्। उनले कमाएर पठाएको पैसाबाट श्रीमान्ले गाउँमा गजबसँग व्यवसाय चलाइरहेका छन्। तर गाउँका मान्छे मेरी साथीले कमाएको पैसामाथि शंका गर्छन्। ‘विदेशमा के काम गरेर यत्रो पैसा कमाई’ भन्ने आशयले उनको चरित्रमाथि अप्रत्यक्ष रूपमा सवाल गर्छन्।”
महिलाहरू कमाउन घर बाहिर निस्किंदा, विदेश जाँदा उनीहरूको श्रम र क्षमताको अवमूल्यन गर्दै सोझै चरित्रमाथि औंला उठाइन्छ। पुरुषसत्ताको विषाक्त व्यवहार हो यो। पुरुषसत्ताले महिलाहरूको स्वतन्त्रतामा बन्देज लगाउन खोज्छ, महिलाहरू स्वतन्त्र हुनु आफ्नो सत्ता संकटमा पर्नु हो भन्ने मान्छ। वैदेशिक रोजगारीमा जाने पुरुषले समाजले लिने यस्तो कुनै परीक्षा दिनु पर्दैन तर पुरुष सरह पसिना काढेर काम गर्ने महिलाले हरदम चरित्रको कसीमा खरो उत्रिनुपर्छ। शंका र अनुमानकै भरमा लाञ्छित बन्नुपर्छ। देशमा रहँदा होस् या परदेश पुग्दा, महिलाहरूको यौनिक स्वतन्त्रतालाई समाजले बाँधिराख्न खोज्छ।
विदेश गएका कारण परिवारमा अनुपस्थित रहने नेपालीहरूको संख्या बढ्दै गएको छ। त्यसमा महिलाको संख्या पनि पहिलेभन्दा बढेको छ। वैदेशिक रोजगारीमा गएकाहरूको कुल तथ्यांकको ९.३४ प्रतिशत हिस्सा महिलाको छ। २०७८ सालको जनगणना अनुसार १५ लाख ५५ हजार ९६१ परिवारका २१ लाख ९० हजार ५९२ जना विदेशमा छन्। जसमध्ये १७ लाख ९९ हजार ६७५ पुरुष (८२.२ प्रतिशत) र तीन लाख ९० हजार ९१७ जना महिला (१७.८ प्रतिशत) छन्।
आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। जबकि अघिल्लो आव २०७८/७९ मा ६ लाख ३० हजार ८७८ महिला विदेशिएका थिए। वैदेशिक रोजगारीमा जाने महिलाको संख्या अग्रस्थानमा भएको जिल्ला झापा हो।
वैदेशिक रोजगारीमा गएकाहरूले देशको धरमराउँदो अर्थतन्त्रमा टेको हालिरहेका छन्। देशको अर्थतन्त्रको मूल स्रोत नै रेमिटेन्स हो। रोजगारीबाट फर्केका महिलाहरूको कुराकानीलाई आधार मान्ने हो भने पुरुषको तुलनामा आफ्नो कमाइको ठूलो रकम बचाएर उनीहरूले रेमिटेन्स पठाइरहेका छन्। तर बदलामा उनीहरूले आफ्नै चरित्रमाथि अनेक प्रश्न खेप्दै आएका छन्।
वैदेशिक रोजगारीमा गएका नागरिकको हकहितमा झापामा लामो समयदेखि कार्यरत फणीन्द्र दाहाल भन्छन्, “आर्थिक संकटका कारण खाडी मुलुक गएर काम गर्ने महिलाहरूले त्यो संकट त टार्छन् तर परिवार, आफन्त र समाज महिलाको कमाइको स्रोतमाथि नै प्रश्न गरिरहेका हुन्छन्। यसले गर्दा महिलाहरू सधैं दोहोरो चपेटामा पर्ने गरेका छन्।”
महिलाहरूले विदेशमा गरेको श्रमको कमाइबाट घर बनाएका छन्, सन्तानलाई राम्रो शिक्षा दिएका छन् र समग्रमा परिवारलाई आर्थिक रूपमा सबल बनाएका छन्। साथै, आफ्नो परिवार मात्र नभई देशको अर्थतन्त्रमा योगदान दिइरहेका छन्। कहिल्यै घरको चौघेरा नाघेर नहिंडेका उनीहरू सन्तानसँग टाढिएर, अन्जान ठाउँमा नबुझ्ने भाषा र अपरिचित मान्छेहरूको बीचमा काम गरेर आर्थिक उपार्जन गर्ने कोशिश गरिरहेका छन्। त्यसरी विदेश गएकामध्ये कतिले विद्यालय तहसम्मको पढाइ समेत पूरा गरेका छैनन्।
यस्ता सीमा र समस्याका बीच विदेश गएर कमाउन गरेको आँटका लागि यी महिला सम्मानका हकदार छन्। यी सबै पाटो बिर्सेर वैदेशिक रोजगारीबाट आर्थिक स्वतन्त्रता र स्वावलम्बनको स्वाद चाखिरहेका महिलाप्रति तुच्छ दृष्टिकोण राखिनु सभ्य समाजकै लज्जास्पद अवस्था हो।